http://propertydainik.com/

केबल–कन्डक्टर उद्योग ८० प्रतिशत ‘अन्डर क्यापासिटी’मा चलिरहेको छ: लुम्बिनी विद्युतका भाइस प्रेसिडेन्ट सरोज मिश्रसँगकाे अन्तरवार्ता

लगभग ३० अर्बको त कन्डक्टरकै मात्र माग छ । हाउस वायरिङ केबल समेत मिलाउँदा हामी सम्बन्धित उद्योगहरूको बजार आकार वर्षको ३५ अर्बको पुगिसकेको छ । तर, यहाँको माग सबै पूरा गर्न सक्ने क्षमता भएर पनि काम नपाएर उद्योगका मेशिनहरू त्यसै बसेका छन् ।

२०५० वैशाखबाट लुम्बिनी विद्युत् उद्योगको नेशनल सेल्स म्यानेजरका रूपमा करियर शुरू गरेका सरोज मिश्र नेपाली केबल र कन्डक्टर क्षेत्रमा यस विषयको राम्रो जानकार मानिन्छन् । सन् १९७७ (विसं २०३४) मा स्थापना भएको लुम्बिनी विद्युत्मा नेशनल सेल्स म्यानेजरका रूपमा प्रवेश गरेका मिश्र अहिले कम्पनीको भाइस प्रेसिडेन्ट छन् । नेपाली केबल तथा कन्डक्टर उद्योगको उत्पादन, बजारलगायतका विषयमा मिश्रसँगको कुराकानीको सम्पादित अंश: 

नेपाली केबल–कन्डक्टर उद्योगमा पायोनियर मानिने लुम्बिनी विद्युत्ले आफ्नो प्रडक्ट लाइन अहिलेसम्ममा कत्तिको विस्तार गर्न सकेजस्तो लाग्छ ?

लुम्बिनी विद्युत् यो सेगमेन्टमा नेपालकै पुराना केही उद्योगमध्येको हो । सञ्चालनमा आएको तीन दशकभन्दा बढी भइसकेको छ । ट्रान्समिशन लाइनका लागि आवश्यक हुने ठूलो क्षमताका एसीएसआर कन्डक्टर उत्पादनबाट नेपालको केबल तथा कन्डक्टर बजारमा प्रवेश गरेको लुम्बिनी विद्युत् यस्तो कन्डक्टर उत्पादन गर्ने नेपालकै पहिलो कम्पनीसमेत हो ।
विद्युत् उत्पादनदेखि अन्तिम उपभोक्तासम्म पु¥याउने सम्पूर्ण प्रकारका कन्डक्टर र केबल अहिले हामी बनाइरहेका छौं । अर्थात्, यो सेगमेन्टमा पर्ने ‘एन्ड–टु–एन्ड’ सबै विद्युतीय वस्तु हामी उत्पादन गर्छौं । यसमा कम्तीमा १५ मुख्य प्रकारका उत्पादनहरू पर्छन् । त्यसभित्र पनि विभिन्न आकारमा गरेर करीब छ सय भेराइटीका केबल तथा कन्डक्टर हाम्रो कम्पनीले उत्पादन गर्छ । नेपालमा हामी मात्रै एउटा कम्पनी हौं जसले ६०० स्क्वायर एमएमसम्मका ठूलो कन्डक्टर बनाउँछ ।
विद्युत्को उत्पादनपछि ट्रान्समिशन लाइनबाट सबस्टेशनसम्म लगिन्छ, त्यसका लागि चाहिने एसीएसआर कन्डक्टर हाम्रो सबैभन्दा पहिलो उत्पादन हो । सबस्टेशनमा ल्याइसकेपछि आवश्यक हुने कन्ट्रोल केबल पनि हामी बनाउँछौं । सबस्टेशनबाट वितरण प्रणालीमा विद्युत् जोड्न चाहिने साना ओभरहेड कन्डक्टर (विजेल, ¥याबिट, डग) हरू पनि उत्पादन गर्छौं । यस्तै, जनघनत्व धेरै भएका तथा शहरी क्षेत्रहरूमा नाङ्गो तारबाट विद्युत् चुहावट नहोस् भन्नका लागि राखिने कभर्ड कन्डक्टर र एबीसी (एरियल बन्डल्ड केबल) पनि बनाउँछौं ।
पोलदेखि मान्छेको घरको मिटरसम्म ल्याउने कालो तार (कन्सेन्ट्रिक केबल) पनि हामीले उत्पादन गर्दै आएका छौं ।
२०५७ सालदेखि हामीले घरायसी वायरिङमा प्रयोग हुने ‘हाउसहोल्ड केबल’ को उत्पादन थाल्यौं । सँगसँगै, पावर केबल पनि उत्पादन ग¥यौं जसको प्रयोग उद्योगहरूमा एक ठाउँमा हुने विद्युत्लाई विभिन्न मेशिनरीहरूसम्म पु¥याउनमा हुन्छ । ट्रान्सफर्मरको मुख्य कच्चा पदार्थ कपर इनामेल वायर तथा स्ट्रिप पनि हाम्रो प्रडक्टलाइनमा पर्छ ।

प्राधिकरणको ट्रान्समिसनमा प्रयोग हुने ५० देखि ६० प्रतिशत कन्डक्टर लुम्बिनी विद्युत्ले नै आपूर्ति गरिरहेको छ

यो सेगमेन्टको धेरै पुरानो खेलाडी हुनुको नाताले बजार र व्यापारमा तपाईंहरूलाई पक्कै पनि ‘अर्ली मुभर एडभान्टेज’ हासिल भएको होला । के छ अवस्था ?
विद्युत् उत्पादन केन्द्रदेखि हाउस वायरिङसम्मका सम्पूर्ण चरण र प्रक्रियामा आवश्यक पर्ने सबै प्रकारका केबल तथा कन्डक्टरका लागि हामी ‘वान स्टप सलुशन’ हौं । विभिन्न स्तरका ग्राहकको आवश्यकताअनुसार सबै प्रकारका कन्डक्टर तथा केबल हामी उत्पादन गरेर दिन सक्छौं । ठूला परियोजनामा लाग्ने सामान अर्डर वा ठेक्का पाएपछि मात्र बनाउँछौं भने घरायसी प्रयोजनामा प्रयोग हुने केबललगायतका सामानहरू भने पहिल्यै बनाएर डिलरमार्फत बजार पठाउने गर्छौं ।
हाम्रो सबैभन्दा ठूलो ग्राहक विद्युत् प्राधिकरण हो । प्राधिकरणको ट्रान्समिसनमा प्रयोग हुने ५० देखि ६० प्रतिशत कन्डक्टर लुम्बिनी विद्युत्ले नै आपूर्ति गरिरहेको छ, टेन्डर प्रक्रियामार्फत । नेपालमा ट्रान्सफर्मर बनाउने दुईवटा मुख्य कम्पनी छन्, निक र ट्रान्सवेल्ड । यी दुवैले बनाउने ट्रान्सफर्मरमा प्रयोग हुने ६० प्रतिशत सामग्री हाम्रै उत्पादन हुन् । विद्युत् प्राधिकरणले मर्मतसम्भार गर्ने ट्रान्सफर्मरका लागि आवश्यक सामान पनि हामीले नै दिइरहेका छौं । यसबाट पनि बजारमा हाम्रो उपस्थिति अनुमान लगाउन सकिन्छ ।

यसबाट तपाईंहरूको ठूलो बजार रिटेलभन्दा बढी थोक ग्राहक नै हुन् भन्ने बुझिन्छ । कुल कारोबारको ढिक्कामा घरायसी उपभोक्ता र ठूला ग्राहकको हिस्सा कतिकति छ ?
भोल्युम र रकम दुवै हिसाबले अहिले हाम्रो सबैभन्दा ठूलो ग्राहक विद्युत् प्राधिकरण हो । उसको एउटै प्रोजेक्टका लागि वा एकपटकमै हामी टेन्डरमार्फत करोडौंको सामान आपूर्ति गर्छौं । सीएसआर कन्डक्टरका टेन्डरहरू कम्तीमा पनि १० करोडभन्दा माथिकै हुन्छन् । प्राधिकरणले बल्कमा सामान लिन्छ । कन्डक्टर, ओभरहेड ट्रान्समिशन लाइन, एबीसी केबललगायतका लागि हाम्रो सबैभन्दा ठूलो बजार नेपाल विद्युत् प्राधिकरण नै हो । हाम्रो टर्नओभरको ५० प्रतिशतभन्दा बढी प्राधिकरणसँग मात्रै हुन्छ ।

वार्षिक कति रकम जतिको कारोबार गर्छ लुम्बिनी विद्युतले ?
हामी प्रोफेशनल कम्पनी भइसकेकाले कुनै पनि कुरा दुई किसिमले राख्दैनौं, पारदर्शी छौं । यसैले कारोबारको आँकडा खुलस्त पार्न समस्या छैन । अघिल्लो वर्ष राखेको करीब डेढ अर्बको कारोबार लक्ष्य हासिल भयो । चालू आर्थिक वर्षका लागि साढे २ अर्ब रुपैयाँको लक्ष्य राखेका छौं । यसमध्ये सवा अर्बदेखि डेढ अर्बसम्म विद्युत् प्राधिकरणसँगै हुन्छ भन्ने लागेको छ । यसबाहेक हाम्रो कुल व्यापारमा २० प्रतिशत हिस्सा हाउस वायरिङ केबलको छ ।

घरेलु तथा औद्योगिकलगायत सबै किसिमको आन्तरिक माग पूरा गरेर बचेको विद्युत् भारत, बंगलादेशमा निर्यात गर्ने सोच छ । त्यसका लागि हाम्रै विभिन्न करिडोर र अन्तरदेशीय प्रसारणलाइन निर्माणका कामहरू युद्धस्तरमा भइरहेका छन् । त्यस्ता कतिपय प्रसारणलाइन परियोजनाहरूमा ठूलो क्षमताका कन्डक्टरहरूलगायतका सामान आपूर्तिमा हामी पनि सहभागी भइरहेका छौं ।

अघिल्लो वर्षको भन्दा यसपालि करीब ६६ प्रतिशत बढीको कारोबार गर्ने लक्ष्य राख्नुभएको देखियो । केबल, कन्डक्टरको समग्र बजार नै यही गतिमा बढिरहेको छ कि तपाईंहरू अलिक बढी महत्त्वाकांक्षी हुनुभएको हो ?
हामीले अहिले भइरहेका र आगामी दिनमा हुने विद्युत् तथा प्रसारणलाइन परियोजनाका कामहरूलाई आधार मानेर नै आफ्नो व्यापार र बजारको अनुमान गरेका हौं । अहिले नेपालमा जलविद्युत् आयोजनाहरू व्यापक रूपमा निर्माण भइरहेका छन् । अबको तीन वर्षभित्र यति विद्युत् उत्पादन हुन्छ कि विद्युत् प्राधिकरणले पनि नेपालका कुनै पनि घरमा टुकी बाल्नुपर्ने अवस्था नहुने अथवा सबै घरमा बत्ती पुर्याउने लक्ष्यका साथ काम गरिरहेको छ । तीन वर्षपछि अहिले भएका सबै उद्योगमा चौबीसै घण्टा विद्युत् दिन र भोलिका दिनमा आउने सबै उद्योगहरूलाई पनि सहज रूपमा विद्युत् उपलब्ध गराउनसमेत पर्याप्त हुने प्राधिकरणको अपेक्षा छ ।
त्यतिमात्र नभएर घरेलु तथा औद्योगिकलगायत सबै किसिमको आन्तरिक माग पूरा गरेर बचेको विद्युत् भारत, बंगलादेशमा निर्यात गर्ने सोच छ । त्यसका लागि हाम्रै विभिन्न करिडोर र अन्तरदेशीय प्रसारणलाइन निर्माणका कामहरू युद्धस्तरमा भइरहेका छन् । त्यस्ता कतिपय प्रसारणलाइन परियोजनाहरूमा ठूलो क्षमताका कन्डक्टरहरूलगायतका सामान आपूर्तिमा हामी पनि सहभागी भइरहेका छौं ।
अहिले १२०० मेगावाटको हाराहारीमा रहेको हाम्रो आन्तरिक उत्पादन क्षमता नै तीन वर्षभित्र पाँच हजार मेगावाट पुग्दै छ । त्यसले हाम्रो विद्युत् र विद्युतीय उत्पादनको बजार व्यापक विस्तार गर्नेछ ।

प्राधिकरणले इन्डक्शनलगायतका विद्युतीय उपकरणको प्रयोग र विद्युत् खपत बढाउन हचुवामा होइन, योजनासहित आह्वान गरिरहेको हो ।

उत्पादन अबको वर्षायामबाटै ‘बचत’ हुने अनुमानमा प्राधिकरणले इन्डक्शन चुल्होलगायतका विद्युतीय उपकरण प्रयोग गरेर खपत बढाउन आह्वान गर्दै छ । तर अहिलेको वितरण प्रणालीको स्तर त्यसलाई धान्ने छैन । तपाईंहरू प्राधिकरणको वितरण प्रणालीसँगै जोडिएका थुप्रै योजनामा सहभागी भएर काम गरिरहनुभएकाले वितरणको गुणस्तर सुधार्नतर्फ भने प्राधिकरण कत्तिको गम्भीर देख्नुहुन्छ ?
प्राधिकरणले इन्डक्शनलगायतका विद्युतीय उपकरणको प्रयोग र विद्युत् खपत बढाउन हचुवामा होइन, योजनासहित आह्वान गरिरहेको हो । मलाई राम्रोसँग याद छ, आजभन्दा ३५ वर्षअगाडि हाम्रोतिर हप्तामा एक दिन मंगलबार त्यो पनि ७ देखि ९ बजेसम्म (२ घण्टा) मात्र बत्ती आउँथ्यो । विद्युतीय उपकरण चलाउने, विजुलीबाट आइरन लगाउने भन्ने नै थिएन ।
पहिले विद्युत् उत्पादन पनि कम थियो, अहिले पनि पर्याप्त भइसकेको छैन । पहिले विद्युत्को माग र विद्युतीय उपकरणहरू चलाउने अभ्यास पनि ज्यादै कम थियो । त्यसैले त्यतिबेला वितरण प्रणालीमा लाग्ने कन्डक्टर तथा अन्य उपकरणहरू सानो क्षमताका लगाइए । जस्तै ः पुराना वितरण प्रणालीमा कतिपय ठाउँमा विद्युत् प्रवाहका लागि चाहिने एसीएसआर कन्डक्टर ५० स्क्वायर एमएमको लगाउनुपर्ने ठाउँमा २० स्क्वायर एमएमको मात्र लगाइएको छ । तर अब बिस्तारै हामी ‘सरप्लस’ मा जाँदै छौं । यससँगै प्रसारणलाइनको काम व्यापक रूपमा भइरहेको छ । त्यसैले विद्युत् प्राधिकरणले त्यस्ता कम क्षमताका उपकरणहरूलाई अहिले स्तरीय सामानले प्रतिस्थापन गर्दै छ ।
अब विद्युत् पर्याप्त उत्पादन भएर चाहिए जति दिन सक्ने अवस्थामा पुग्दै छौं भने वितरण प्रणालीमा पहिले जोडिएका आवश्यकताभन्दा कम गुणस्तरका ट्रान्सफर्मर, कन्डक्टर, एबीसी केबललगायत सबै संरचना परिवर्तन गर्नुपर्छ भन्ने सोचका साथ विद्युत् प्राधिकरण पनि योजना बनाएर काम गर्दै छ । काठमाडौंमा अबको पाँच वर्षभित्रमा एउटा पनि बिजुलीको तार जमिनबाहिर नदेखिने बनाउन भर्खरै ठेक्का लगाइसकेको छ प्राधिकरणले, यो त्यही योजनाको एउटा हिस्सा हो । मलाई लाग्छ, कुलमान (घिसिङ) जीको नेतृत्वमा विद्युत् प्राधिकरण धेरै नै व्यवस्थित योजनाका साथ अघि बढिरहेको छ ।

कम क्षमताका उपकरण हटाएर बढी क्षमताका स्तरीय उपकरण लगाउने परियोजना मात्र ६०–७० वटा अहिले देशव्यापी रूपमा सञ्चालन भइरहेका छन् ।

वितरण प्रणालीलाई सुधार गर्न प्राधिकरणले योजना बनाएर काम गरिरहेको भन्ने यति विश्वासका साथ कुरा राख्नुभयो कि सायद तपाईंहरू पनि प्राधिकरणका त्यस्ता परियोजना निकट भएर काम गर्दै हुनुहुन्छ । कति जति त्यस्ता परियोजनाहरू अहिले प्राधिकरणले अघि बढाएको बुझ्नुभएको छ ?
मेरो विचारमा प्राधिकरणले जुन गतिमा यसका लागि काम गर्नुपर्ने हो त्यहीअनुरूप अघि बढिरहेको छ । वितरण प्रणाली सुधारका परियोजनाहरू पनि एकदमै अघि बढाएको छ । हामी पनि त्यस्ता केही परियोजनामा सहभागी छौं । मेरो विचारमा कम क्षमताका उपकरण हटाएर बढी क्षमताका स्तरीय उपकरण लगाउने परियोजना मात्र ६०–७० वटा अहिले देशव्यापी रूपमा सञ्चालन भइरहेका छन् ।
जस्तै, शहरमा विद्युत्को माग बढी हुन्छ भने विद्युत्गृहबाट ट्रान्समिसनलाइन हुँदै शहरसम्म चाहिएको मात्रामा गुणस्तरीय विद्युत् ल्याइपु¥याउन पनि प्रसारणलाइनको कन्डक्टरको क्षमता बढाउनुपर्छ । प्राधिकरणले यसमा पनि काम गरिरहेको छ । ट्रान्समिसनलाइनमा पहिले २५० स्क्वायर एमएमको बियर कन्डक्टर हुन्थ्यो भने त्यसलाई अपग्रेड गरेर अहिले ३५० देखि ५०० स्क्वायर एमएमसम्मका ठूला (मुज) कन्डक्टर राखिँदै छ । ढल्केबर मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमा पनि ५०० स्क्वायर एमएमको मुज कन्डक्टर नै राखिएको छ । यस्तो ठूलो क्षमताका कन्डक्टर बनाउने नेपालमा एक मात्र कम्पनी लुम्बिनी विद्युत् नै भएकाले त्यसमा हामी पनि कुनै रूपमा सहभागी छौं । समग्रमा मलाई लाग्छ, अबको पाँच वर्षभित्र वितरण प्रणालीको सम्पूर्ण संरचना अपग्रेड भएर राम्रो अवस्थामा पुग्नेछ ।

विद्युत्को बढी माग भएका शहरी क्षेत्र र बुटबल, विराटनगर, सिमरा, हेटौंडा इत्यादि लगायत औद्योगिक करिडोरमा विद्युत् वितरण प्रणालीको सबैभन्दा ठूलो ‘बोटल–नेक’ छ ।

अहिले विद्युत् वितरण प्रणालीको सबैभन्दा ठूलो ‘बोटल–नेक’ चाहिँ कहाँकहाँ छ उसो भए ?
विद्युत्को बढी माग भएका शहरी क्षेत्र र बुटबल, विराटनगर, सिमरा, हेटौंडा इत्यादि लगायत औद्योगिक करिडोरमा नै हो । तर, यी सबै ठाउँमा प्राधिकरणले प्रणाली अपग्रेड गर्दै छ । शहरी क्षेत्रमा पनि कतिपय ठाउँमा पुराना नाङ्गो तार हटाएर इन्सुलेटेड एबीसी केबल राखिरहेको छ । ग्रामीण क्षेत्रमा समेत चुहावट नियन्त्रणका लागि समेत एबीसी केबल नै राख्ने योजना बनाएको छ ।

अहिले मात्र नभएर शुरूदेखि नै नेपाल आत्मनिर्भर भएको कुनै उत्पादन छ भने त्यो हाउस वायरिङ केबल हो ।  हाउस वायरिङ केबल समेत मिलाउँदा हामी सम्बन्धित उद्योगहरूको बजार आकार वर्षको ३५ अर्बको पुगिसकेको छ । तर, यहाँको माग सबै पूरा गर्न सक्ने क्षमता भएर पनि काम नपाएर उद्योगका मेशिनहरू त्यसै बसेका छन् ।

नेपाल आत्मनिर्भर भएका तयारी सामग्रीमध्ये हाउस वायरिङ केबल पनि हो भन्ने सुनिन्छ । यसमा अहिलेको हाम्रो माग र नेपाली उद्योगहरूको उत्पादन क्षमता कति हो ?
हामी अहिले मात्र नभएर शुरूदेखि नै आत्मनिर्भर भएको कुनै उत्पादन छ भने त्यो हाउस वायरिङ केबल हो । यो उत्पादन गर्ने आजभन्दा २० वर्षअघि हामीलगायतका चार पाँचवटा मात्र कम्पनी थियौं तर त्यतिबेलाको माग नै कम भएकाले त्यो धान्न सक्थ्यौं । त्यतिबेला विद्युतीकरण धेरै भइसकेको थिएन । त्यसैले बजार आकार ठूलो थिएन, हामीजस्ता ठूलो एक दुईवटा कम्पनीले १०–१२ करोडको र अरूले दुई–चार करोडको बेच्थे । अहिले माग पनि बढ्यो तर उत्पादन गर्ने उद्योगको संख्या पुगिसक्यो कि उत्पादन क्षमताभन्दा बजारको माग धेरै कम छ । यसले पनि अस्वस्थ प्रतिस्पर्धा छ ।
हाउस वायरिङको मात्र बजार अहिले वार्षिक चारदेखि पाँच अर्ब रुपैयाँको पुगिसकेको छ जबकि दुई दशकअघि यसको आकार मुस्किलले २०–२५ करोड रुपैयाँको थियो होला । अहिले हाम्रो उद्योगको नै उत्पादन क्षमता वार्षिक १० लाख क्वाइल हो, एक क्वाइलमा ९० मीटर हुन्छ । तर बजार नपाउँदा हामी उत्पादन क्षमताको २० प्रतिशतमा काम गर्न बाध्य छौं । अर्थात्, ८० प्रतिशत ‘अन्डर क्यापासिटी’मा चलिरहेको छ उद्योग । अरू कम्पनीहरूको पनि अवस्था त्यस्तै छ ।

हाउस वायरिङबाहेकका अन्य सामग्री उत्पादनमा चाहिँ नेपाली उद्योगहरूको उत्पादन क्षमता वा आपूर्ति मागभन्दा कम, बेसी के छ ?
यसमा पनि हामी (स्वदेशी उद्योगहरू) ‘सरप्लस’ मै छौं । साँच्चै भन्ने हो भने क्षमताअनुसार काम नपाएर हामी अप्ठ्यारोमा छौं । विद्युत् प्राधिकरणको वितरण लाइनमा लाग्ने ३० देखि १०० स्क्वायर एमएमसम्मका साना क्षमताका र ट्रान्समिसन लाइनमा लाग्ने सयभन्दा माथि ५०० स्क्वायर एमएमसम्मका कन्टक्टरहरू सबै नेपाली उद्योगहरूले नै बनाउन सक्ने भइसकेका छन् ।
हाम्रोमा ठूलो क्षमताका कन्डक्टरको वार्षिक माग २० अर्ब जतिको छ । साना र मझौता आकारका कन्डक्टर विद्युत् प्राधिकरणले ५ अर्ब रुपैयाँको त सोझै आफैं खरिद गर्छ । त्योबाहेक ईपीसीमार्फत पनि १० देखि १२ अर्बको खपत हुन्छ । समग्रमा लगभग ३० अर्बको त कन्डक्टरकै मात्र माग छ । हाउस वायरिङ केबल समेत मिलाउँदा हामी सम्बन्धित उद्योगहरूको बजार आकार वर्षको ३५ अर्बको पुगिसकेको छ । तर, यहाँको माग सबै पूरा गर्न सक्ने क्षमता भएर पनि काम नपाएर उद्योगका मेशिनहरू त्यसै बसेका छन् ।

निर्माण सामग्रीको कारोबार घट्नुको अर्थ हाम्रो सामानको माग पनि स्वाभाविक रूपमा कमी आएको छ  । यसैले हाउजिङलाई मात्र हेर्ने हो भने यसतर्फको व्यापारमा ५० प्रतिशत जति ब्रेक लागेको हामीले महसुस गरेका छौं ।

पछिल्लो समय हाउजिङका साथै निर्माण गतिविधि नै अलि सुस्त देखिएको छ । यसले तपाईंहरूको उत्पादन र बजारलाई कुनै असर गरेको छ-छैन ?
जग्गाको खरिद बिक्रीमा केही समययता कमी आएपछि घर बनाउने क्रम पनि घटेको यथार्थ हो । हाम्रो सामान लाग्नुभन्दा अगाडि चाहिने सिमेन्ट, डन्डीको व्यापारसमेत अहिले घटेको छ । ती निर्माण सामग्रीको कारोबार घट्नुको अर्थ हाम्रो सामानको माग पनि स्वाभाविक रूपमा कमी आएको छ  । यसैले हाउजिङलाई मात्र हेर्ने हो भने यसतर्फको व्यापारमा ५० प्रतिशत जति ब्रेक लागेको हामीले महसुस गरेका छौं । तर, अर्कोतर्फ अहिले नेपालमा थुप्रै ठूला होटलहरू बनिरहेका छन् । यसले हाउजिङतर्फको घटेको व्यापारलाई कभर गरिरहेको र गर्छ भन्ने हामीले आशा राखेका छौं ।
तथापि, भवनहरूमा लाग्ने हाम्रो उत्पादनको बजार अहिले चुनौतीपूर्ण छ । हाउजिङ र कमर्शियल बिल्डिङहरूमा खासगरी हामीले गर्ने उत्पादनहरूमध्ये हाउस वायरिङ केबल, पावर केबल आदि लाग्छ । यसमध्ये पनि हाउस वायरिङ केबल महत्त्वपूर्ण हो जसको उत्पादक धेरै छन् नेपालमा । सानो लगानीमा खुलेका उद्योगहरूले गुणस्तरमा सम्झौता गरेर सस्तोमा सामान दिइरहेको पनि पाइन्छ । हामीजस्ता ठूला उद्योगले त्यसरी आफ्नो साख जोखिममा पारेर काम गर्न नसक्ने हुँदा हाम्रा उत्पादन गुणस्तरीय र केही महँगो पनि हुन सक्ला । यसैले हाउस वायरिङ केबलमा भने अस्वस्थ प्रतिस्पर्धा धेरै छ । यसले पनि हामीलाई केही चुनौती भइरहेको छ । अर्को, उत्पादक धेरै भइसकेपछि विक्रेताहरूले पनि सामान राख्ने, भुक्तानी दिनेलगायतमा विभिन्न किसिमले अप्ठ्यारो पार्ने काम हुने गरेको छ ।
हामीजस्ता ठूलो क्षमताका विद्युतीय उपकरण उत्पादन गर्ने कम्पनी ७–८ वटा छन् भने हाउस वायरिङ केबल उत्पादन गर्नेसमेत जोड्दा जम्मा २३ वटा छन् । ठूला सात–आठ उद्योगमा कम्तीमा एक–एक अर्ब लगानी भएको छ । समग्र सबै दुई दर्जन उद्योगमा १५ देखि २० अर्ब रुपैयाँको लगानी पुगिसकेको छ । तर हामीले क्षमता अनुसार पर्याप्त काम पाएनौं भने यति ठूलो लगानी जोखिम छ ।

केबल–कन्डक्टर उद्योग ८० प्रतिशत ‘अन्डर क्यापासिटी’मा चलिरहेको छ: लुम्बिनी विद्युतका भाइस प्रेसिडेन्ट सरोज मिश्रसँगकाे अन्तरवार्ता